Rapti Academy of Health Sciences, Dang, Nepal

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ, नेपाल

Tender and Quotation

प्रतिष्ठानको शिक्षण अस्पताल भवनको समुद्घाटन ।

Published on : Oct 04, 2023

आज मिति २०८०-०६-१७ गते बुधबार माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिष्ठानका सह–कुलपति श्री मोहन बहादुर बस्नेतज्यूबाट प्रतिष्ठानको नवनिर्मित शिक्षण अस्पताल भवनको समुद्घाटन भयो । 

सो अवसरमा माननीय मन्त्रीज्यूले प्रतिष्ठानको अस्पतालका विभिन्न विभाग तथा वार्डहरुको निरिक्षण गर्नुको साथै उपचाररत विरामी र तीनका कुरुवाहरुसँग उनीहरुको स्वास्थ्य र समस्याका बारेमा जानकारी लिनुभयो । 

माननीय मन्त्रीज्यूले कुनै पनि नेपाली विपन्नता र गरिबीको कारण स्वास्थ्य उपचार सेवाबाट बन्चित हुनु नपरोस्, जीवन गुमाउनु नपरोस्, त्यसको लागि नेपाल सरकार, प्रतिष्ठान तथा अस्पतालहरुलाई सहयोग गर्न तयार छ भन्नुभयो । त्यसैगरी आधारभुत स्वास्थ्य सेवा प्राप्त गर्ने प्रत्येक नागरिकको मौलिक हक भएकोले सो अनुरुप सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । जनतालाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको मुल उद्देश्य रहेकोले सो का लागि ३ तहका संघीय, प्रदेश र स्थानिय सरकारको आवश्यक समन्वय र सहयोग हुने विश्वास दिलाउनुभयो । 

उक्त कार्यक्रममा लुम्विनी प्रदेश सरकारका माननीय स्वास्थ्यमन्त्री श्री राजु खनालज्यूले प्रदेश सरकार प्रतिष्ठानको सेवा विस्तार र संचालनमा सहयोग गर्न तयार रहेको र यसै आ.व.मा प्रदेश सरकारबाट रु ४ करोड रकम उपलब्ध गराउने निर्णय भएको व्यहोरा जानकारी गराउनुभयो । वाँहाले तत्कालिन उपक्षेत्रिय अस्पतालको स्तरोन्नतीका लागि आफुले काम गरेको र आफु प्रदेश स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेको तथा प्रतिष्ठानको एक सेवाग्राही समेत भएकोले प्रतिष्ठानलाई सदा सहयोग गर्न तयार रहको भन्दै सेवा सुविधा विस्तार गर्न आग्रह गर्नु भयो । 

उक्त अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका श्रीमान सचिब श्री देवकुमारी गुरागाँईले प्रतिष्ठानको विकाश विस्तारका लागि थप सहयोग गर्न नेपाल सरकार सदा तयार रहेको र आवश्यक समन्वय र सहयोग गर्ने विश्वास दिलाउनु भयो । उहाले प्रतिष्ठानको टीम को उच्च मूल्याङ्कन गर्ने भन्दै प्रतिष्ठानको सफलताको शुभकामना व्यक्त गर्नु भयो । 

प्रतिष्ठानका रजिष्ट्रार श्री प्रकाश थापाको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा रजिष्ट्रारले प्रतिष्ठानको संक्षिप्त प्रगती विवरण प्रस्तुत गर्नु हुदै प्रतिष्ठानमा आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि आवश्यक श्रोत साधनको कमी भएकोले सो का लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्नुहुन अनुरोध गर्नुभयो । 

सो अवसरमा प्रतिष्ठानका का.मु. निर्देशक डा. रमेश कडेलले प्रतिष्ठानको कामकारबाही, शैक्षिक कार्यक्रम, सेवा विस्तार र संचालन संबन्धी तुलनात्मक प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा दाङ जिल्ला समन्वय समिति प्रमुख श्री नित्यानन्द शर्मा, दाङका प्रमुख जिल्ला अधिकारी श्री राम बन्धु सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिब डा. विकाश देवकोटा, सो मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेल, लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयका श्रीमान सचिब डा. जनार्दन पन्थी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जे.सी शाखा प्रमुख श्री रोशनी देवी कार्की, प्रतिष्ठानका डीन, सहायक निर्देशक, स्कुल अफ नर्सिङका चिफ, विभिन्न विभाग शाखाका प्रमुख/इन्चार्जज्यूहरुको उपस्थिति रहेको थियो । साथै दाङ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।